Abstract
प्रस्तुत लेखमा आञ्चलिक अध्ययनका लागि रामलाल जोशीद्वारा लिखित कथासङ्ग्रह ऐनामा सङ्गृहीत ‘दियो जलिरहेछ’ शीर्षकको कथा चयन गरिएको छ । रामलालले गजल, कविता आदि विधामा कलम चलाएका भए पनि उनको लेखन कविताका उपविधाहरूमा भन्दा आख्यानका क्षेत्रमा अझ सशक्त रहेको छ । उनले आख्यानमा मूलतः सुदूरपश्चिमको समाजको चित्र उतारेका छन् । जोशीले त्यस क्षेत्रविशेषको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि अवस्थाको यथार्थ चित्र उतारेका कारण उनका आख्यानात्मक रचना आञ्चलिकताका विशेषताले युक्त छन् । साहित्यमा आञ्चलिकता भन्नाले खास स्थानविशेषका सामाजिक, सांस्कृतिक भाषिक आदि विशेषताले युक्त साहित्य भन्ने बुझिन्छ । यस कथामा आञ्चलिकताका तिनै विशेषता पाइने तर यसअघि आञ्चलिकतालाई आधार बनाएर प्रस्तुत कथाको अध्ययन नगरिएकाले यो शीर्षक चयन गरिएको हो । प्रस्तुत कथा आञ्चलिकताका दृष्टिले केकस्तो रहेको छ भन्ने मुख्य समस्या र यसको प्राज्ञिक समाधान खोज्ने उद्देश्यमा आधारित यस अध्ययनमा विश्लेष्य कथा प्राथमिक सामग्रीका रूपमा रहेको छ भने आञ्चलिकताको सैद्धान्तिक अवधारणाका लागि द्वितीयक स्रोत उपयोग गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक एवं विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । कृतिमा पाइने आञ्चलिकताका विविध अभिलक्षणहरूमध्ये यस कथामा भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनीतिक र भाषिक आञ्चलिकता पाइने कुरा जनाइएको छ । प्रस्तुत कथा अञ्चलविशेषका विशेषता उजागर गर्नका लागि लेखिएको र तत् तत् विशेषता उजागर भएकाले कथा आञ्चलिकताका दृष्टिले उल्लेखनीय रहेको निष्कर्ष निकालिएको छ ।
Published Version
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have