Abstract

प्रस्तुत अध्ययनमा महाकवि मोहनप्रसाद भण्डारीद्वारा रचित ऋतम्भरा महाकाव्यमा प्रयोग गरिएका छन्दहरूको विश्लेषण गरिएको छ । यस क्रममा कविको परिचय र महाकाव्यको विषयवस्तुमा समान्य प्रवेश गरी प्रयोग गरिएका छन्दहरूको बारेमा अध्ययन र चर्चा गरिएको छ । यस सन्दर्भमा छन्दशास्त्रको पृष्ठभूमि, ऋतम्भरा महाकाव्यमा प्रयोग गरिएका छन्द, तिनको लक्षण र यसै महाकाव्यबाट उदाहरणहरू दिँदै प्रयोग भएका छन्दहरूको गणना गर्दा यसमा मालिनी, तोटक, शालिनी, मल्लिका, मन्दाक्रन्ता, वसन्ततिलका, द्रुतविलम्वित, अनुष्टुप्, शिखरिणी, पञ्चचामर, स्रग्धरा, स्रग्विणी, भुजङ्गप्रयात, उपजाति, वियोगिनी, शार्दूृलविक्रीडित, वंशस्थ (वंशस्थ+इन्द्रवंशा), विजया, भुजङ्गसङ्गता, कामदा, शशिवदना, इन्द्रवंशा, चामर, रथोद्घता, संयुता, उपेन्द्रवज्रा, चम्पकमाला, स्वागता र अभिनवतामरसा गरी २९ वटा छन्द पाइएका छन् । यति धेरै छन्दहरूको सहज प्रयोगले छन्दप्रयोगका दृष्टिले ऋतम्भरा महाकाव्यले धेरै कुरामा समानता राख्तै खास गरेर छन्द–प्रयोगमा शाकुन्तलीय मार्ग र प्रविधि अँगालेको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ । वि.सं. २०७३ सालमा प्रकाशित ऋतम्भरा महाकाव्य मूलरूपमा पूर्वीय चिन्तन, धर्मदर्शन, बौद्धिक चेतना, कलाचेतना आदिको अनुशीलनबाट नै मानवसमाज सुखी र सम्पन्न बन्न सक्छ भन्ने दार्शनिक चिन्तनमा आधारित देखिन्छ । यो महाकाव्य पूर्वीय र पाश्चात्य क्षेत्रलाई जोडेर विश्व भूगोल, जलसम्पदा र प्राकृतिक सम्पदालाई एकीकृत गरी नेपाली काव्यवाटिकामा सिर्जनाको नयाँ स्वरूप ल्याउने महाकाव्य पनि पाइन्छ । यसको सिर्जना आद्योपान्त छन्दोबद्ध कवितामा भएकाले छन्दविधानका दृष्टिले यो अनुशीलनयोग्य देखिन्छ । छन्दमा साङ्गीतिकता, श्रुतिमधुरता तथा वर्ण र मात्राको क्रमबद्ध श्रृङ्खला रहने हुँदा काव्यपरम्परकमा यसको विशिष्ट भूमिका रहिआएको छ । ऋतम्भरा महाकाव्यमा पनि छन्दकविताको निरन्तरता देखिएको हुँदा यसको छन्दप्रयोग हेर्नु यस लेखको मूल अभिप्राय रहेको छ । यसका लागि ऋतम्भरा नै प्राथमिक सामग्री रहेको छ । यस महाकाव्यका सन्दर्भमा आएका भूमिका, लेखकीय आदिलाई र छन्दको विवेचनासम्बन्धी पादटिप्पणीमा राखिएका सामग्रीलाई द्वितीयक सामग्रीमा लिइएको छ । विषको विश्लेषण गर्दा गणसूत्रका आधारमा महाकाव्यमा रहेका भिन्नभिन्न छन्दहरूको पहिचान गरी कुनै एक छन्दका लागि कुनै एक चतुष्पदी पद्य महाकाव्यबाटै लिएर विषयशीर्षकलाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी अर्थापन विधिद्वारा यस लेखमा प्रयुक्त सारको निरूपण गरिएको छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call