Abstract

प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपमा प्रचलित हुँदै आएका मिथक, अनुश्रुति, लोककथा आदि स्वैरकल्पनात्मक प्रकारका छन् । आधुनिक कालपूर्वका नेपाली आख्यानमा स्वैरकल्पनाको प्रचुरता पाइन्छ । आधुनिक नेपाली उपन्यासको आरम्भ यथार्थवादसँगै भएकाले तिनमा स्वैरकल्पनाको प्रयोग पाइँदैन । प्रयोगवादी उपन्यासको आरम्भ भएपछि स्वैरकल्पनाको प्रयोग पनि हुन थाल्दछ । उत्तरआधुनिक उपन्यासमा पनि स्वैरकल्पनाको प्रयोग हुने भएकाले हालसम्म पनि नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग पाइन्छ । स्वैरकल्पना मूलतः मनोविश्लेषणात्मक सिद्धान्तसँग सम्बन्धित छ । मनोविश्लेषणले मानवस्वभावको गहन अध्ययन गर्दछ । सिग्मन्ड फ्रायडले अचेतनका आधारमा विभिन्न मनोवैज्ञानिक सिद्धान्तको व्याख्या गरेका छन् र त्यसै क्रममा स्वैरकल्पनाको पनि व्याख्या गरेका छन् । ज्याक लकाँले फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तको पुनर्पठन गरेका छन् । उनले पनि स्वैरकल्पनाको चर्चा गरेका छन् । तिनै सिद्धान्तका आधारमा प्रस्तुत अध्ययन गरिएको छ । सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा गरिएको छ र त्यसका लागि पाठात्मक विश्लेषण विधिको उपयोग गरिएको छ । आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग स्वप्निलता, वैज्ञानिक आविष्कारको परिकल्पना, पर्यावरणीय परिवर्तनको दुश्चिन्ताका रूपमा गरिएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call