Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख ‘तोदा’ उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । ‘तोदा’ उमा सुवेदीको पहिलो उपन्यास हो । प्रस्तुत उपन्यासमा माओवादी द्वन्द्वबाट प्रभावित भई विदेसिएका युवतीहरूले इजरायलमा केयरगिभरको काम गर्नुपरेको विषयलाई प्रस्तुत गरिएको छ । उनीहरूले नेपालमा र इजरायलमा रोजगारीका सन्दर्भमा भोग्नुपरेका अनेक भय, त्रास, भौतिक तथा मानसिक पीडाहरू यसमा अभिव्यक्त छ । बलात्कार, प्रेमको नाममा पाएको धोका, लोग्नेका अन्य स्त्रीप्रतिका आशक्ति र नाजायज सम्बन्ध र आफूप्रतिका बेवास्ता जस्ता घटना, आफन्तहरूले आर्थिक हिनामिना गरिदिएर उत्पन्न पीडालाई उपन्यासमा अभिव्यक्त गरिएको छ । त्यसैगरी जर्मनेली यहुदीहरूमाथि हिटलर र उसको नाजी सेनाले गरेको अन्याय, अत्याचार, दमन, शोषण आफन्तजनहरूको हत्या लगायत भागेर ज्यान जोगाउँदै इजरायल आई पुनर्जीवन यापनमा लागेका यहुदी वृद्धनारीहरूका मनमा बास गरेको हिटलरको भयलाई उपन्यासले प्रस्तुत गरेको छ । मान्छेमा हुने युद्ध, द्वन्द्व आदिकारणले शारीरिक तथा मानसिक रूपमा उत्पन्न हुने अल्पकालीन वा दीर्घकालीन पीडा, भय त्रासलाई अभिघात भनिन्छ । साहित्यमा अभिव्यक्त यस्ता विषयको अध्ययन अभिघातपरक समालोचनाअन्तर्गत गरिन्छ । प्रस्तुतअनुसन्धानमूलक लेखमा अभिघात समालोचनाको सैद्धान्तिक स्वरूपलाई प्रस्तुत गरी त्यही सिद्धान्तका आधारमा प्रस्तुत उपन्यासमा प्रयुक्त पात्रका जीवनमा घटेका अभिघातजन्य अवस्थाको अभिव्यक्ति के कस्तो छ ? भन्ने समस्यामा केन्द्रित रहेर यो आलेख तयार पारिएको छ । यसमा विश्लेषणात्मक विधिको प्रयोगद्वारा पात्रका जीवनमा घटित अभिघातजन्य अवस्थाको पहिचान तथा विश्लेषण गरी उनीहरूका जीवनमा केकस्ता घटनाका माध्यमबाट अभिघातजन्य अवस्थाको सिर्जना भएको छ र त्यसमा कसरी अभिघातको अवस्था सिर्जना भएको छ भन्ने कुराको निष्कर्ष निकाली अभिघातका दृष्टिले विश्लेष्य कृतिको मूल्य निरूपण गरिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call